
कोही किन सम्बन्धविच्छेद गर्छ ?
२०८१ फागुन ५ गते
केही अपवादलाई लिएर महिलाहरूले सम्बन्धविच्छेदको पहल गर्दा सम्पत्तिको लोभमा विवाह र सम्बन्धविच्छेद गर्छन् भनेर सामान्यीकरण गर्न मिल्दैन ।विवाह गरेको एक वर्ष पनि नपुग्दै हालै सम्बन्धविच्छेद गरेको जोडीको कथा सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि चियापसलसम्म गफको विषय बनेको छ ।
यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य एलन मस्कले सम्बन्धविच्छेद गर्ने महिलालाई श्रीमान्को सम्पत्ति दिनु नपर्ने गरी कानुन बनाउने भनेर गरेको मिडियाबाजी पनि भइरहेको छ ।
केही अगाडि सार्वजनिक भएको नेपालमा उकालो लागेको सम्बन्धविच्छेदको ग्राफ पनि यो प्रसंगमा जोडिन आउँछ । जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा सर्वोच्च अदातलमा ५४ वटा, उच्च अदालतमा ९०८ वटा र देशभरका जिल्ला अदालतमा ३६ हजार ४७२ गरी जम्मा ३७ हजार ४३४ वटा फिराद सम्बन्ध विच्छेद गरिपाऊँ भनी दर्ता भएका थिए ।
यीमध्ये सर्वाेच्चमा १३ वटा, उच्चमा ५११ वटा र जिल्ला अदालतमा २६ हजार ५५४ वटा मुद्दामा सुनुवाइ भएको थियो । आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सर्वोच्चमा ६५ वटा, उच्चमा १ हजार १२९ वटा र देशभरका जिल्ला अदालतमा ३८ हजार ९८९ गरी जम्मा ४० हजार १८३ फिराद दर्ता भएका छन् । तीमध्ये सर्वोच्चमा १४, उच्चमा ६६६ र जिल्ला अदालतहरूमा २९ हजार ४५० मुद्दा किनारा लागेका छन् ।
यसरी सम्बन्ध विच्छेदको फिराद बढ्नु एक-दुई मानिसको मात्रै कुरा रहेन । त्यसैले यो आम चासोको विषय बन्नु स्वनभाविक पनि हो ।